काठमाडौँ । आगामी केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै पर्यटन विभागले पर्यटकीय गन्तव्यमा रहेका तथा भ्रमणको तयारीमा रहेका पर्यटक, पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले बुधबार मौसमसम्बन्धी सूचना जारी गर्दै शरद ऋतुका लागि हिमाली क्षेत्रमा पुगिसकेका तथा जाने तयारीमा रहेका पर्वतारोही, पदयात्री र सहयोगी कर्मचारीलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा तथा आरोहणसम्बन्धी गतिविधि सञ्चालन गर्न आग्रह गरेको हो।
नेपाल मौसम बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। उक्त अवधिमा भूक्षय, बाढी तथा पहिरोको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने विभागले जनाएको छ।
मौसमको प्रतिकूलताले पदयात्रा तथा हिमाल आरोहणका गतिविधिमा समेत असर पार्न सक्ने भएकाले विभागले यो अवधिमा सकेसम्म यात्रा नगर्न र नगराउन अनुरोध गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भए सुरक्षित तथा सावधानीपूर्वक यात्रा गर्न विभागको आग्रह छ।
विभागले मौसमी पूर्वानुमानलाई ध्यानमा राखेर पदयात्रा तथा आरोहणका आगामी योजना बनाउनसमेत सम्बन्धित सबैलाई आग्रह गरेको छ।
यसैबीच, पदयात्रा तथा हिमाल आरोहणको अनुमति जारी भएका गोरखाको सामागाउँ, खुम्बु क्षेत्र र मनाङलगायत स्थानमा रहेका स्वास्थ्य संस्थालाई सेवा अवरुद्ध नहुने गरी तयारी अवस्थामा रहन विभागले अनुरोध गरेको छ।
त्यस्तै, काठमाडौँ र पोखरामा रहेका हिमाली क्षेत्रमा देखिन सक्ने स्वास्थ्य समस्याको उपचार सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई पनि आवश्यक तयारीसहित सहज र अविच्छिन्न स्वास्थ्य सेवा उपलब्ध गराउन विभागले आह्वान गरेको छ।
विभागले मौसमको अवस्था प्रतिकूल हुनसक्ने भएकाले पर्वतारोहण तथा पदयात्रामा संलग्न व्यक्ति र सम्बन्धित व्यवसायीले जोखिमको आकलन गरी आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ।







