काठमाडौँ । काँस्य पदक पक्का गरिसकेको नेपाली महिला कबड्डी टोलीको जारी २० औँ एसियाली खेलकुदको यात्रा सेमिफाइनलमा नै रोकिएको छ ।
टोकाया सिटिजेन जिम्नाजियममा शुक्रवार भएको सेमिफाइनलमा नेपाल टोली छिमेकी प्रतिद्वन्द्वी भारतसँग ४८-२४ को फराकिलो अन्तरले पराजित भएको हो ।
यससँगै नेपाली टोलीले पहिलोपल्ट एसियाली खेलकुदको फाइनलमा पुग्ने अवसर गुमायो । गत १९औँ संस्करणको एसियाली खेलकुदमा पनि नेपाली टोली सेमिफाइनलमा रोकिएको थियो ।
यसपल्ट लामो तयारी रहेकाले नेपाल फाइनलमा पुग्ने आशा गरिए पनि असफल भयो । बलियो भारतसँग नेपाली खेलाडीले डिफेन्स र अफेन्समा राम्रो गर्न सकेन । सुरुको केही समय दबाब बनाए पनि नेपालले त्यसलाई निरन्तरता दिन सकेन ।
यसअघि समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेसँगै नेपाली टोलीले काँस्य पदक सुरक्षित गरेको हो । भारतले पहिलो हाफमा ३१-१७ को अग्रता बनाएको थियो ।
सुरुवाती पाँच मिनेटसम्म नेपाली खेलाडीले निकै चुनौती दिए । तर भारत ९-५ ले अगाडि नै रह्यो । यसपछि भने भारतीय खेलाडी हाबी हुन थाले । जसको कारण पहिलो हाफमा नेपाल दुई पल्ट अलआउट हुन पुग्यो । भारतले चार र नेपालले तीन बोनस अंक पाए । नेपालले एकपल्ट सुपर ट्याकल पनि गर्यो । तर पनि नेपाली टोली १४ अंकले पछि रह्यो । दोस्रो हाफमा नेपाल खेलमा फर्किने आशा थियो । तथापि नेपाली खेलाडी चल्न सकेनन् । यससँगै नेपालले ७ अंक मात्र जोड्न सक्यो ।
भारतले भने थप १७ अंक जोड्दै सहज जितसँगै स्वर्ण पदकका लागि फाइनलमा स्थान बनायो । समूहचरणमा नेपालले कुल तीन खेलमध्ये दुई खेलमा जित निकालेको थियो । समूह ‘बी’ को नेपालले थाइल्याण्डलाई ४६-४३ र श्रीलंकालाई ३४-२५ ले हराउँदा सेमिफाइनलको यात्रा पक्का गरेको हो ।






