काठमाडौँ । दुई दिनदेखिको अविरल वर्षाका कारण जनजीवन कष्टकर बनेको काठमाडौँ उपत्यकाको मौसममा शनिवार बिहानदेखि सुधार आएको छ ।
वर्षा रोकिएर आकाश खुल्न थालेपछि ठप्पप्राय: रहेको उपत्यकाको चहलपहल पुनः सामान्य अवस्थामा फर्किन थालेको हो ।
बिहीवार र शुक्रवार मुलुकभरजसो परेको भारी वर्षाले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा जनजीवन नराम्ररी प्रभावित पारेको थियो । निरन्तरको वर्षाका कारण सडक आवतजावत, दैनिक कामकाज र व्यापार–व्यवसायमा समेत सुस्तता देखिएको थियो ।
शनिवार बिहानैदेखि वर्षाको क्रम रोकिएर घाम लाग्न थालेपछि जनजीवनमा केही सहजता महसुस गरिएको छ । यद्यपि, मौसम अझै पूर्णरूपमा स्थिर भइसकेको छैन । जल तथा मौसम विज्ञान विभागले मौसममा सुधार देखिए पनि पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको जनाएको छ ।
विभागकाअनुसार केही स्थानमा अझै पनि छिटपुट वर्षा हुने सम्भावना कायमै रहेको छ । विभागले पछिल्लो दुई दिनको वर्षाका कारण जमिन गलिसकेको र नदीनालाको बहावमा केही परिवर्तन हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेको छ । विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दा र पहिरोको उच्च जोखिम भएका स्थानमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।
आगामी केही दिनसम्म मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधार मानेर दैनिक गतिविधि गर्न विभागले अनुरोध गरेको छ । पूर्वबाट क्रमशः वर्षा गराउने मौसम पश्चिमतिर सरेकाले पश्चिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।






