काठमाडौँ । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको छ ।
पोखरा, बुटवल, हेटौँडा र काठमाडौँ क्षेत्रका प्रसारण लाइन तथा सबस्टेसनमा समस्या देखिँदा ठूलो परिमाणमा विद्युत् आपूर्ति प्रभावित भएको हो ।
उपलब्ध पछिल्लो विवरणअनुसार सबैभन्दा ठूलो प्रभाव पोखरा क्षेत्रमा परेको छ । कुस्मा-न्यू बुटवल २२० केभी प्रसारण लाइनमा आएको फाल्टका कारण करिब २०० मेगावाट बराबरको विद्युत् प्रभावित भएको छ । त्यस्तै रौघाङ-दाना १ र २ लाइनमा करिब १५५ मेगावाट प्रभावित भएको विवरण छ ।
बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस-नामर्जुङ, सेती नदी-करुवासेट, अपर दोर्दी र मोदीलगायतका जलविद्युत् आयोजनाको उत्पादन तथा विद्युत् आपूर्ति पनि प्रभावित भएको छ । पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा प्रभाव परेको देखिएको छ ।
प्रसारण लाइनमा फाल्ट, विभिन्न क्षेत्रमा आपूर्ति कटौती
रौघाट क्षेत्रमा न्यू बुटवल-कुस्मा २२० केभी प्रसारण लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट बराबरको विद्युत् प्रभावित भएको छ । उक्त लाइन बिहान ९:५० बजेसम्म पुनः सञ्चालनमा ल्याउने अपेक्षा गरिएको विवरणमा उल्लेख छ ।
बुटवल क्षेत्रमा न्यू भारतपुर-न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो । उक्त लाइन बिहान ९:५१ बजे चार्ज गरिएको जनाइएको छ ।
त्यसैगरी चापर-पथलैया १३२ केभी प्रसारण लाइन अवरुद्ध हुँदा कावासोती सबस्टेसनमा करिब एक घण्टा विद्युत् लोड कटौती गर्नुपरेको छ ।
हेटौँडा क्षेत्रमा पनि बाढीका कारण माण्डु ६६ केभी प्रसारण लाइन प्रभावित भएको छ । उक्त क्षेत्रमा क
रिब ३२ मेगावाट विद्युत् प्रभावित भएको विवरण छ ।
कावासोती-भारतपुर १३२ केभी लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सीभीटीमा समस्या आएपछि विद्युत् प्रणालीमा थप असर परेको छ ।
औद्योगिक क्षेत्रमा पनि विद्युत् आपूर्ति प्रभावित
विद्युत् प्रणालीमा आएको अवरोधको प्रभाव औद्योगिक क्षेत्रमा समेत परेको छ । सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट र काम्ने सबस्टेसन तथा आसपासका उद्योगमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको विवरण छ ।
कावासोती सबस्टेसनमा २० मेगावाट र हरदी सबस्टेसनमा २५ मेगावाट लोड कटौती गरिएको छ । सुनवल–मैनिया तथा बुटवल क्षेत्रका उद्योगमा करिब ५० मेगावाट विद्युत् प्रभावित भएको छ ।
सिमरा सबस्टेसनमा बिहान ६ बजेदेखि १० बजेसम्म करिब २० मेगावाट लोड प्रभावित भएको तथा अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा बिहान ६:०१ बजेदेखि करिब ८० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको विवरणमा उल्लेख छ ।
काठमाडौँमा पनि छोटो समय विद्युत् अवरोध
बाढी तथा प्रसारण प्रणालीमा आएको दबाबको असर काठमाडौँमा समेत देखिएको छ । पाटन सबस्टेसन र टेकु क्षेत्रमा बिहान ९ बजेदेखि ९:१० बजेसम्म करिब १० मिनेट विद्युत् अवरोध भएको थियो ।
पाटन क्षेत्रमा पथलैया लाइन र केएल-१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएपछि समस्या देखिएको विवरणमा उल्लेख छ । बाढीका कारण एमआरएसको आपत्कालीन आपूर्ति प्रणालीसमेत प्रयोग गर्नुपरेको जनाइएको छ ।
विभिन्न अवरोध जोड्दा १ हजार ३०३ मेगावाट
उपलब्ध विवरणमा उल्लेख भएका विभिन्न लाइन, उत्पादन केन्द्र तथा लोड अवरोधको परिमाण जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् अवरोध देखिन्छ ।
तर यो परिमाणलाई एकै समयमा विद्युत् आपूर्ति बन्द भएको वास्तविक मात्रा भने मान्न मिल्दैन । विभिन्न समयका प्रसारण लाइन, उत्पादन केन्द्र, सबस्टेसन तथा लोड कटौतीसम्बन्धी विवरणलाई जोडेर उक्त परिमाण निकालिएको हो ।
समग्रमा बाढीले उत्पादन केन्द्र तथा प्रसारण संरचनामा असर पुर्याएपछि लाइन फाल्ट, उपकरणमा क्षति, ओभरलोड र त्यसपछि लोड कटौती गर्नुपर्ने अवस्था आएको देखिन्छ ।
विशेषगरी पोखरा-बुटवल २२० केभी प्रसारण करिडोर तथा पथलैया आसपासका १३२ केभी प्रसारण लाइनमा आएको अवरोधले पश्चिम तथा मध्य नेपालको विद्युत् प्रणालीमा उल्लेखनीय प्रभाव पारेको छ ।
उपलब्ध विवरणअनुसार विद्युत् पूर्वाधारमा भएको क्षतिको पूर्ण अवस्था भने सम्बन्धित संरचनाको स्थलगत निरीक्षण र मर्मतपछि थप स्पष्ट हुने देखिन्छ ।






