काठमाडौँ । लगातारको वर्षाका कारण सिरहा र धनुषा जोड्ने कमला नदीमा पानीको बहाव बढेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायले सतर्कता बढाएको छ।
नदी आसपासका जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ गर्दै स्थानीय बासिन्दालाई सचेत रहन र नदी तथा खोलानालाको आसपास अनावश्यक रूपमा नजान आग्रह गरेका छन्।
मौसम पूर्वानुमान शाखाले ८ गतेदेखि ११ गतेसम्म भारी वर्षा तथा हावाहुरीको सम्भावना रहेको सूचना जारी गरेपछि सिरहामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई सम्भावित जोखिम क्षेत्रतर्फ परिचालन गरिएको हो।
जिल्ला प्रशासन कार्यालय सिरहाले पनि सार्वजनिक सूचना जारी गर्दै वर्षाका कारण बाढी तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सशस्त्रका ८३ जना फिल्डमा, थप २०० तयारी अवस्थामा
सम्भावित विपद्को अवस्थामा तत्काल उद्धार तथा राहत कार्यमा परिचालन गर्न सशस्त्र प्रहरी बलका ८३ जना सुरक्षाकर्मीलाई फिल्डमा खटाइएको छ।
त्यसैगरी थप २०० जना सशस्त्र प्रहरीलाई आवश्यकताअनुसार तत्काल परिचालन गर्न तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नेपाली सेनाका २५० जना सुरक्षाकर्मीलाई समेत आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ।
प्रशासनले नदी तथा खोलानालाको बहावमा अचानक वृद्धि हुन सक्ने भएकाले जोखिम क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। सम्भावित विपद्को अवस्थामा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने तयारी गरिएको जनाइएको छ।






