काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटना जारी रहेकाले जोखिम टरिनसकेको बताएका छन्। विपदबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो कर्तव्य भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका अनुसार असोज ८ गतेदेखि सम्बोधन गर्नुभन्दा केहीबेर अघिसम्मको विवरणमा विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएको छ। पाँच जना घाइते छन् भने पाँच जना बेपत्ता भएको विवरण प्राप्त भएको छ। उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको नि:शुल्क उपचारको व्यवस्था मिलाइएको बताएका छन्। मनाङको हिम पहिरोमा मानिस बेपत्ता भएको सूचनाबारे थप विवरण संकलन भइरहेको उनको भनाइ छ।
‘७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय’
असोज ९ देखि १२ गतेसम्म भारी वर्षा र हावाहुरीको पूर्वानुमानपछि नागरिकलाई सावधानी अपनाउन अपिल गरिएको प्रधानमन्त्रीले बताएका छन्। उनका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमान्ड पोस्टबाट सूचना प्रवाह, रात्रिकालीन यातायात र विद्यालय सञ्चालनसम्बन्धी सावधानीका निर्णय गरिएका थिए। ७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय बनाइएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले देशभर ४३९ वटा मनसुनजन्य घटना भएको विवरण दिएका छन्। प्रभावितलाई स्थानीय तहसँग समन्वय गरेर अस्थायी बसोबासको प्रबन्ध मिलाइएको र सुरक्षाकर्मीहरू बेपत्ताको खोजी तथा बाढीमा फसेका मानिस र पशुचौपायाको उद्धारमा खटिएको उनले बताएका छन्।
सडक र विद्युत् आपूर्ति प्रभावित
नारायणी नदीमा बाढीले बगाएको क्रुजसिप पुलमा अड्किएपछि सावधानीका लागि पूर्व-पश्चिम राजमार्ग बन्द गरिएको प्रधानमन्त्रीले बताएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडक प्रभावित भएको उनको भनाइ छ। क्षतिग्रस्त सडक मर्मत गरी यातायात पुनः सञ्चालन गर्न सरकार जुटेको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्रीका अनुसार बाढीका कारण राष्ट्रिय प्रसारण लाइनबाट १,०१३.२ मेगावाट विद्युत् आपूर्ति रोकिएको छ। प्रसारण लाइनको टावर ढलेका कारण ३१८ मेगावाट क्षमताका आयोजना ठप्प भएका छन् भने जोखिमलाई ध्यानमा राखेर ६९५।२ मेगावाट उत्पादन क्षमताका आयोजनाको उत्पादन बन्द गरिएको छ। आपूर्ति पुन:स्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको उनले बताएका छन्।
अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह
महाकाली नदीको जलसतह बढेपछि गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन्। सेती, नारायणी र कमला नदीमा पनि पानीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन उनले आग्रह गरेका छन्। हुरीसहितको वर्षाले धान र तरकारीलगायत बालीमा समेत क्षति पुर्याएको उनको भनाइ छ।
“हाम्रो अगाडि खतरा अझै टरेको छैन, जोखिम कायमै छ,” प्रधानमन्त्री शाहले भनेका छन्। उनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र संकट परेमा शुल्क नलाग्ने नम्बर १२३४ मा सम्पर्क गर्न आग्रह गरेका छन्। विपद्को समयमा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भंग गर्ने र कालोबजारीमा संलग्न हुनेमाथि निगरानी भइरहेको पनि उनले बताएका छन्।






