काठमाडौँ । प्रतिनिधि सभाको सोमवारको बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले मन्त्रालयको नाम परिवर्तनसम्बन्धी नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ संसद्मा प्रस्तुत गरेकी छिन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री सीता वादीले मन्त्रालयको नाममा थप समावेशी पहिचान जोड्न आवश्यक रहेको भन्दै विधेयक पेश गरेकी हुन् । नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ बमोजिम मन्त्रालयको कार्यक्षेत्रलाई थप स्पष्ट पार्न र विद्यमान ऐनहरूमा मन्त्रालयको नाम परिमार्जन गर्न विधेयक आवश्यक रहेको मन्त्री वादीले उल्लेख गरिन् । सअघि सभामुखले उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावलाई सदनसमक्ष पेश गरेका थिए । सदनमा सो प्रस्तावमाथि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम १०५ बमोजिम कुनै पनि सांसदबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिएका थिए ।
मन्त्रालयको नाम ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ रहने गरी कानुनी प्रक्रिया अघि बढेको छ । यसअघि यो मन्त्रालयको नाममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्पष्ट पहिचान थिएन । प्रस्तावित विधेयक पारित भएसँगै सम्बन्धित सबै ऐनहरूमा मन्त्रालयको नाम स्वतः परिमार्जित हुनेछ ।






