काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादवलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
विशेष अदालतले २०८२ चैत ८ गते गरेको फैसलामा चित्त नबुझेपछि आयोगले शुक्रबार (असोज १६ गते) पुनरावेदन निवेदन दर्ता गरेको हो।आयोगका प्रवक्ता सुरेश न्यौपानेले विज्ञप्तिमार्फत पुनरावेदन गरिएको जानकारी दिएका छन्।
आयोगले पर्यटन विभाग, भृकुटीमण्डपमा कार्यरत यादवले सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा बिगो कायम गरेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो।
आरोप पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा सोही दफाको उपदफा (२) अनुसार कैद, बिगोबमोजिम जरिवाना र गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न माग गरिएको थियो। यस्तै, ऐनको दफा १६ को उपदफा (२) बमोजिम पनि कैद तथा जरिवाना र लुकाइछिपाइ राखिएको सम्पत्ति जफतको माग गरिएको आयोगले जनाएको छ।
यादवले पत्नी आशाकुमारी यादवको नाममा घरजग्गासमेत खरिद गरेको आरोप लगाउँदै आयोगले उनलाई पनि प्रतिवादी बनाएको थियो। आशाकुमारीलाई भने उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको विज्ञप्तिमा उल्लेख छ।
विशेष अदालतबाट सफाइ दिने फैसला भएपछि आयोगले त्यसलाई चुनौती दिँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।



