काठमाडौँ । घर निर्माणसम्बन्धी स्वीकृति र सिफारिसका काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख कार्की, आस्मा कार्की र आशिष पौडेलविरुद्ध शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।
आयोगका अनुसार घरको संरचनागत विश्लेषण (स्ट्रक्चरल एनालाइसिस) स्वीकृत गर्ने क्रममा बार्गेनिङ गर्दै पटक-पटक दु:ख दिएको र घुस मागेको भन्ने उजुरी परेको थियो।
त्यसका आधारमा खटिएको टोलीले इन्जिनियर कार्की र मध्यस्थको भूमिका निर्वाह गरेको आरोप लागेकी आस्मालाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा संरचनागत विश्लेषण स्वीकृति तथा सिफारिस, नक्सापास, घर निर्माण सिफारिस, अस्थायी इजाजत र निर्माण सम्पन्नलगायत नगरपालिकाबाट हुने काममा सहजीकरण गर्न दुई लाख आठ हजार रुपैयाँ घुस लिएको तथा लिन लगाएको खुलेको आयोगको दाबी छ। यी काममा तीनै जनाको मिलेमतो, योजना र मतसल्लाह रहेको आरोप पत्रमा उल्लेख छ।
आयोगले इन्जिनियर कार्कीविरुद्ध दुई लाख आठ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र बिगोबमोजिम जरिवाना माग गरेको छ।
आस्माविरुद्ध पनि दुई लाख आठ हजार रुपैयाँ र आशिषविरुद्ध एक लाख ४४ हजार रुपैयाँ बिगो कायम गरिएको छ। दुवैले घुस लिने-दिने कार्यमा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाउँदै आयोगले ऐनको दफा २२ बमोजिम मुख्य कसुरदारसरह सजाय माग गरेको प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।



