काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदका लागि उम्मेदवारी दिएका छन्।
नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रिया अन्तर्गत शर्माले वारेसमार्फत उम्मेदवारी दर्ताका लागि मनोनयन पत्र निर्वाचन समितिमा पठाएका हुन्।
उनले पुष्पराज पौड्याललाई वारेस दिएर मनोनयन पत्र दर्ताका लागि पठाएका छन्। शर्माको प्रस्तावकमा झापाका उद्धव थापा र सुनसरीका केदार भण्डारी तथा समर्थकमा झापाका सुधीर सिवाकोटी र देउकुमार थेवे रहेका छन्।
पहिलो पटक वरिष्ठ उपसभापतिको निर्वाचन
काँग्रेसले १५औँ महाधिवेशनअघि विधान संशोधन गर्दै पहिलो पटक वरिष्ठ उपसभापति पद सिर्जना गरेको हो। संशोधित विधान पारित भएसँगै सोही संरचनाअनुसार नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया अघि बढेको छ।
नयाँ संरचनामा वरिष्ठ उपसभापति पद थपिएसँगै बहालवाला उपसभापति शर्माले सोही पद रोजेका हुन्। उम्मेदवारी दर्ताअघि पनि उनी वरिष्ठ उपसभापतिका प्रमुख आकांक्षीका रूपमा देखिएका थिए।



