काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाका दुई अधिकृतलाई राजपत्राङ्कित विशिष्ट श्रेणीका पदमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ।
आयोगको २०८३ असोज २० गतेको निर्णयअनुसार सहन्यायाधिवक्ता अमृतमणि नेउपानेलाई सचिव पदमा बढुवा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ।
महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँमा सहन्यायाधिवक्ता रहेका नेउपाने हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, काठमाडौँमा कार्यरत छन्। आयोगले उनलाई सोही आयोगको सचिवमा बढुवा नियुक्ति तथा पदस्थापन गर्न सिफारिस गरेको हो।
त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव ध्रुबकुमार चौहानलाई नायब महान्यायाधिवक्तामा नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरिएको छ।
आयोगले चौहानलाई महान्यायाधिवक्ताको कार्यालय, काठमाडौँमा नायब महान्यायाधिवक्ताका रूपमा नियुक्ति तथा पदस्थापन गर्न सिफारिस गरेको हो।



