काठमाडौँ । होटेल संघ नेपाल (हान)ले आतिथ्य दिवसको अवसर पारेर दुईदिने ‘होटेल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ। आगामी जनवरी १६ र १७ अर्थात् २०८३ माघ २ र ३ गते आयोजना हुने एक्स्पोमा नेपालको होटेल तथा आतिथ्य उद्योगको अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा छलफल गरिने भएको हो।
संघका अनुसार एक्स्पोमा होटेल तथा आतिथ्य व्यवसायका लागि आवश्यक वस्तु तथा सेवा उपलब्ध गराउने उत्पादक र आपूर्तिकर्ताको सहभागिता रहनेछ। होटेल उद्योगको आपूर्ति शृङ्खला सुदृढ बनाउन आवश्यक विभिन्न उत्पादन तथा सेवाका स्टलसमेत राखिनेछन्।
एक्स्पोमार्फत होटेल उद्योगले राष्ट्रिय अर्थतन्त्र, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र राजस्वमा पुर्याएको योगदानबारे जानकारी गराउनुका साथै उद्योगले भोगिरहेका समस्या र आगामी सम्भावनाबारे सरोकारवालाबीच छलफल गरिने संघले जनाएको छ। उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधारसमेत बहसको विषय बन्नेछ।
हिरक जयन्तीको औपचारिक समापन
होटेल एक्स्पोकै अवसरमा संघले आफ्नो हिरक जयन्ती समारोहको औपचारिक समापन गर्ने भएको छ। विसं २०२२ मा स्थापना भएको संघले ६० वर्षको अवधिमा नेपालको होटेल तथा आतिथ्य क्षेत्रको विकासमा संघ र सदस्य होटेलहरूले पुर्याएको योगदानलाई विशेष रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
यसै अवसरमा नेपालको पर्यटन तथा होटेल उद्योगको वर्तमान अवस्था, सम्भावना र चुनौती समेटिएको वार्षिक विशेष प्रकाशन ‘होटेल इयर बुक २०२७’ पनि सार्वजनिक गर्ने तयारी छ।
पुस्तकमा होटेल तथा आतिथ्य क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र पर्यटन विकासमा पुर्याएको योगदानसँगै आगामी दिनमा उद्योगको विकासका लागि आवश्यक विषयलाई दस्तावेजीकरण गरिने संघले जनाएको छ।
१०८ नेपाली परिकार समेटेर ‘वेलनेस कुकबुक’
नेपाल सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा एक्स्पोमा आरोग्य पर्यटनमा होटेल तथा आतिथ्य क्षेत्रको भूमिकालाई पनि प्राथमिकता दिइने भएको छ।
यसका लागि १०८ प्रकारका जैविक तथा आरोग्यमूलक परम्परागत नेपाली परिकार समेटिएको ‘नेपाल हेरिटेज वेलनेस कुकबुक २०२७’ प्रकाशन गर्ने संघको तयारी छ।
नेपाली मौलिक खाद्य परम्परा, पुर्खाले प्रयोग गर्दै आएका पौष्टिक तथा आरोग्यमूलक खाद्य सामग्री र परिकारलाई आधुनिक आतिथ्य सेवासँग जोडेर स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक तयार गर्न लागिएको हो।
गुन्द्रुकको ब्रान्डिङ र प्रवर्द्धन
एक्स्पोमा नेपाली मौलिक खाद्य पदार्थ गुन्द्रुकको ब्रान्डिङ र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई समेत अघि बढाइने भएको छ। संघले यसअघि आयोजना गरेको गुन्द्रुक राष्ट्रिय कार्यशालाबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा यसको मौलिकता, पोषण तथा आरोग्यमूल्यलाई पर्यटन र आतिथ्य सेवासँग जोड्ने तयारी गरेको जनाएको छ।
होटेल तथा रेस्टुरेन्टका मेनुमा गुन्द्रुकको प्रयोग विस्तार गर्दै अन्तर्राष्ट्रिय पर्यटकसम्म यसको पहिचान पुर्याउने संघको योजना छ।
एक्स्पोमा स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली रैथाने तथा मौलिक परिकारमार्फत स्वागत तथा सत्कार गरिनेछ। नेपाली खानालाई पर्यटकको भ्रमण अनुभवसँग जोडेर अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्य रहेको संघले जनाएको छ।
सरकार–निजी क्षेत्र सहकार्यमा पनि छलफल
होटेल एक्स्पोमार्फत होटेल तथा आतिथ्य उद्योगसँग प्रत्यक्ष सम्बन्धित व्यवसाय, उत्पादन र सेवाको प्रदर्शनीसँगै सरकार र निजी क्षेत्रबीचको सहकार्य, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, बजार विस्तार तथा अन्तर्राष्ट्रिय प्रवर्द्धनका सम्भावनाबारे समेत छलफल गरिनेछ।
कार्यक्रमको व्यवस्थापन तथा समन्वय इभेन्ट सोलुसन प्रालिले गर्नेछ। होटेल संघ नेपालले एक्स्पोलाई नेपालको होटेल तथा आतिथ्य उद्योगको क्षमता, योगदान र सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।



