चितवन । चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रमको आयोजना गरिएको छ ।
विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
उद्योग संघ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो । सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गरेका थिए । एक वाकको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उद्घाटन गरेका थिए। क्रमशः सङ्गीतको तालमा नाच्दै सहभागीले एक वाक गरेका थिए ।
केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार वाक अस्पतालरोड, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोकबाट पुन: चौबीसकोठी, एयरपोर्ट चोक हुँदै संघको परिसरमा आएर समापन गरिएको छ ।
सहभागीहरूले मानव स्वास्थ्यमा अण्डाको महत्त्व दर्साउने झाँकी प्रस्तुत गरेका थिए । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गरेका थिए ।
अण्डा सन्तुलित आहारको महत्त्वपूर्ण हिस्सा हो । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार विश्वमा अण्डा दिवस मनाउने चलन छ । यस वर्ष दिवसको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ ।
सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघको मूल आयोजनामा अमेरिकी सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसइसी) को सहयोग तथा सरकारी र निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिएको हो ।



