काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताका कलाकारको सिर्जनशीलता, मौलिकता र नवीन प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ। अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको सिरिजमार्फत नेपाली सङ्गीतमा नयाँ शैली र सिर्जनात्मक प्रस्तुतिलाई प्राथमिकता दिइने भएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा सञ्चालन गरिएको सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्सले तथा निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन्। आयोजकका अनुसार सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। सार्वजनिक हुने गीत तथा सङ्गीत भिडियोहरू ‘एक्स्ट्रिम म्युजिक सिरिज’ को आधिकारिक युट्युब च्यानलमार्फत उपलब्ध हुनेछन्।
सिरिजको पहिलो सिजनमा नेपाली सङ्गीत क्षेत्रका नौ कलाकार सहभागी हुने भएका छन्। यसमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन रहेका छन्। सहभागी कलाकारले आ–आफ्नो सङ्गीत शैली, सिर्जनात्मक क्षमता र मौलिक पहिचानअनुसार प्रस्तुति दिने आयोजकले जनाएको छ।
परम्परागत सङ्गीत प्रस्तुतिभन्दा फरक अवधारणामा तयार गरिएको सिरिजले आधुनिक सङ्गीत प्रयोग, कलाकारबीचको सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ। यसमार्फत नयाँ पुस्ताका कलाकारलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर उपलब्ध गराउनुका साथै नेपाली सङ्गीतलाई थप विविधतापूर्ण बनाउने अपेक्षा गरिएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकका अनुसार यो पहल व्यावसायिक प्रवर्द्धनमा मात्र सीमित नभई नेपाली सङ्गीत क्षेत्रका प्रतिभाको पहिचान, मौलिक सिर्जनाको विकास र स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा समेत केन्द्रित रहनेछ। सिरिजले कलाकार र श्रोताबीचको सम्बन्ध विस्तार गर्दै नेपाली सङ्गीत क्षेत्रमा नयाँ सिर्जनात्मक सम्भावनाको विकासमा योगदान पुर्याउने आयोजकको विश्वास छ।



