काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्यक महादानका लागि तयारी तीब्र पारेको छ । महानगरले आगामी माघ १ गते आयोजना गर्न लागेको सम्यक महादान सफल बनाउन ३०१ सदस्यीय मूल समारोह समिति गठन गरि तयारी अगाडी बढाएको हो ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महादान सफल पार्न आवश्यक तयारी थालिएको जानकारी दिइन् । उनकाअनुसार महादानमा सहभागी हुने दीपंकर बुद्धको उपस्थिति सुनिश्चित गरिएको छ । महादानमा सहभागी हुने दीपंकर बुद्धका संरक्षक, सम्बन्धित परिवार, समुदाय र गुठीसँग छलफल गरी कार्यक्रममा उपस्थित हुने प्रतिवद्धता लिइएको उनले बताइन् । संरक्षकहरूलाई औपचारिक निमन्त्रणा दिने प्रक्रिया अघि बढाइएको र उनीहरूलाई मूल समारोह समितिको सदस्यका रूपमा मनोनयन समेत गरिएको उनले जानकारी दिइन् ।
महादानको तयारीलाई व्यवस्थित बनाउन अभिलेखीकरण, स्थान व्यवस्थापन, पूजा तथा दान, देवता निमन्त्रणा र सांस्कृतिक गतिविधिका लागि छुट्टाछुट्टै उपसमिति गठन गरिएको उनले बताइन् । ती उपसमितिका संयोजक तथा सदस्यहरूको मनोनयन गरी आवश्यक छलफलसमेत गरिएको उनको भनाइ छ । महादानसँग सम्बन्धित धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षको अभिलेखीकरण गरी पुस्तक प्रकाशन गर्ने तयारी समेत रहेको उनले बताइन् । दीपंकर बुद्धका संरक्षक परिवार, समुदाय तथा गुठीको आधिकारिक विवरण सहजै उपलब्ध नहुँदा आवश्यक जानकारी संकलनमा समय खर्चिनुपर्ने अवस्था रहेकोले प्राप्त विवरणलाई व्यवस्थित रूपमा अभिलेख गर्न लागिएको उनको भनाइ छ । अभिलेखीकरणले आगामी पुस्तालाई सम्यक महादानको प्रक्रिया, परम्परा र व्यवस्थापनबारे जानकारी उपलब्ध गराउने र भविष्यमा कार्यक्रम आयोजना गर्दा आवश्यक विवरण खोज्न लाग्ने समयसमेत घटाउने उनले बताइन् ।



