काठमाडौँ । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्नसक्ने भएका छन् । बुधवारदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा सुरु गरिएको छ । बुधवार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमकाबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले शुभारम्भ गरेका हुन् ।
मन्त्री तिमल्सिनाले हुलाक सेवामार्फत सिमकार्ड समेत लिए । सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए । उनले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा समेत जोड दिए । उनले हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने गरी हुलाकको क्षमता विस्तार गरिने समेत बताए ।
उनले भने, ‘हुलाकको आफ्नै स्ट्रेन्थ पनि छ, लिमिटेसन पनि छ । आफ्नो स्ट्रेन्थको अधिकतम उपयोग गरेर तपाईँहरूले प्लान गर्नुभएको समयभन्दा अगाडि पुर्याउन कोसिस गर्नुहोला । हामीले विस्तारै हुलाक सेवालाई थप प्रभावकारी पनि बनाउँदैछौँ । हुलाकको क्षमता विस्तार पनि गर्दैछौँ । भोलिको दिनमा एक दुई दिनमा नभई केही घण्टाभित्रै डेलिभरी गर्नसक्ने गरी यसको क्यापासिटी बिल्ड गर्नुपर्छ ।’
सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यबाट टेलिकमको सेवा नागरिकको पहुँचमा पुर्याउन सहज हुने उनको विश्वास छ ।



