काठमाडौँ । स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ व्यवस्था गरेको छ। मन्त्रालयले जारी गरेको ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ ले प्रसूति सेवाका क्रममा पर्दा लगाएर आमाको गोपनीयता कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको हो।
नयाँ व्यवस्थाअनुसार प्रसूति सेवाका क्रममा आमाको व्यक्तिगत गोपनीयता र मर्यादाको सम्मान गर्दै आवश्यक पर्दा वा छेकबारको व्यवस्था गर्नुपर्नेछ। एउटै कक्षमा एकभन्दा बढी सुत्केरी राखिएको अवस्थामा पनि प्रत्येक आमाको गोपनीयता कायम हुने गरी सेवा प्रवाह गर्नुपर्ने अवधारणालाई निर्देशिकाले जोड दिएको छ।
प्रसूति सेवाका क्रममा आमाले सहज, सुरक्षित र सम्मानजनक वातावरणमा स्वास्थ्य सेवा पाउनुका साथै आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न सकुन् भन्ने यसको उद्देश्य हो।
निर्देशिकाले प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था, जन्मिएपछि नवजात शिशुलाई आमासँगै राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई समेत प्राथमिकता दिएको छ। साथै, सुत्केरी आमा र नवजात शिशु घर फर्किएपछि पनि आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ।
नयाँ निर्देशिकामार्फत प्रसूति सेवामा आमाको गोपनीयता, सम्मान र सहजतालाई प्राथमिकता दिँदै मातृ तथा नवजात शिशुमैत्री स्वास्थ्य सेवा थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।



