काठमाडौँ । दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्वका बेला सार्वजनिक बिदा भए पनि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव ढुवानी सेवा प्रभावित नहुने भएको छ ।
वैदेशिक रोजगार बोर्डले चाडपर्वको समयमा शोकमा रहेका परिवारलाई थप समस्या नपरोस् भन्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतक श्रमिकको घरसम्म शव नि:शुल्क पुर्याउने व्यवस्थालाई निरन्तरता दिने भएको हो ।
बोर्डको सचिवालयले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गर्न चौबिसै घण्टा सम्पर्क गर्न सकिने गरी कर्मचारी र शव ढुवानी सेवा प्रदायक संस्थाहरूको व्यवस्था मिलाएको जनाएको छ ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ (क) अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपाली श्रमिकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित परिवारको घर ठेगानासम्म नि:शुल्क ढुवानी गर्ने व्यवस्था छ ।
विशेषगरी चाडपर्वका बेला सरकारी कार्यालयहरू बन्द हुँदा शव बुझ्न र घरसम्म लैजान समस्या हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै बोर्डले सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था गरेको हो ।
शव ढुवानीसम्बन्धी जानकारी, आवश्यक समन्वय तथा सेवामा सहजीकरणका लागि बोर्डले सूचना अधिकारी तथा प्रवक्ता शारदा भण्डारी र सुरज ढुंगानालाई सम्पर्क कर्मचारीका रूपमा तोकेको छ ।
त्यसैगरी शव ढुवानीको जिम्मेवारी सेती गणेश सप्लायर्स, आरडी ढुवानी सेवा र बुद्धध्वज ढुवानी सेवालाई दिइएको बोर्डले जनाएको छ ।
बोर्डले वैदेशिक रोजगारीका क्रममा आफन्त गुमाएका परिवारलाई शव ढुवानीका लागि कुनै शुल्क नलाग्ने स्पष्ट पार्दै आवश्यक सहयोग र समन्वयका लागि तोकिएका कर्मचारी तथा सेवा प्रदायकसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
शव ढुवानीसम्बन्धी थप जानकारी लिन वा आवश्यक सहयोग प्राप्त गर्न वैदेशिक रोजगार बोर्डको सचिवालयको टोल फ्री नम्बर ११४१ मा सम्पर्क गर्न सकिनेछ ।
चाडपर्वको सार्वजनिक बिदाका कारण मृतक श्रमिकका परिवारले शव घरसम्म पुर्याउन अतिरिक्त आर्थिक बोझ वा प्रशासनिक झन्झट व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले सेवा नियमित राखिएको बोर्डले स्पष्ट पारेको छ ।




