एजेन्सी । पाकिस्तानका कपडा कारखानामा काम गर्ने श्रमिक चरम गर्मीबाट प्रभावित भएका छन् । जारा र म्याङ्गोजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि सामान उत्पादन गर्ने कारखानामा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा कामदार बेहोस हुने, सास फेर्न कठिन हुने र बिरामी पर्दा ज्यालासमेत गुमाउने अवस्थामा पुगेका छन् ।
कराँचीस्थित एक कारखानामा काम गर्ने २८ वर्षीया सिद्दिकी गर्मीका कारण बेहोस भइ । पसिना र औद्योगिक मेसिनको तापले भरिएको कोठामा उहाँलाई सास फेर्न गाह्रो भएपछि सहकर्मीले सुपरभाइजरलाई बोलाएका थिए । तर उनलाई काम पूरा गर्न भनियो । रोजगारदाताबाट प्रतिशोधको डरले उनको पूरा नाम गोप्य राखिएको छ ।
एसोसिएटेड प्रेस (एपी) ले कराँचीका एक दर्जनभन्दा बढी कामदारसँग गरेको कुराकानीमा उनीहरूले अत्यधिक गर्मी, बेहोस हुने र स्वास्थ्य समस्या भोग्नुपरेको बताएका छन् । एक जनाबाहेक सबैले गर्मीका कारण काममा अनुपस्थित हुँदा ज्याला गुमाएको बताए । उनीहरूमध्ये १० जनाले अमेरिका र युरोपमा बिक्री हुने ब्रान्डका सामान बनाउँछन् ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तनले पाकिस्तानमा चरम गर्मीको जोखिम बढाएको छ । गर्मी र उच्च आद्र्रताले निर्जलीकरण, लू, मुटुसम्बन्धी समस्या तथा अङ्गले काम गर्न छाड्ने अवस्था निम्त्याउन सक्छ । कामदारहरूले आँखा धमिलो हुने, हातखुट्टा सुन्निने, सास फेर्न कठिन हुने र अत्यधिक थकान हुने समस्या सुनाएका छन् । बेहोस भएका श्रमिकलाई छोटो विश्राम वा चिनीपानी दिएर पुनः काममा लगाइने गरेको उनीहरूको भनाइ छ ।
कारखानामा चिसो पानी, पर्याप्त विश्राम, तापक्रम मापन गर्ने उपकरण र उचित हावा आवतजावतको व्यवस्था नभएको कामदारले बताएका छन् । विज्ञहरूले ताप रोक्ने अवरोध, शीतलन प्रणाली र छतमा सेतो रङ लगाउनेजस्ता उपाय अपनाउन सकिने बताएका छन् ।
गर्मीका कारण बेहोस भएर अस्पताल जानुपरेकी सिद्दिकीले महिनामा १५ हजार पाकिस्तानी रुपैयाँ कमाउँछिन् । रोजगारदाताले उपचार खर्च नबेहोरेपछि उहाँलाई छ जना बालबालिकाका लागि खाना जुटाउन कठिन भएको छ । “कहिलेकाहीँ उनीहरूले एकपटक मात्र खाना खान्छन्, कहिलेकाहीँ खानै पाउँदैनन्”, उनले भनिन् ।
पाकिस्तानमा श्रमिक सुरक्षासम्बन्धी कानून भए पनि कार्यान्वयन कमजोर रहेको अधिकारकर्मीहरूको भनाइ छ । इन्डिटेक्स र म्याङ्गोले श्रमिकको स्वास्थ्य तथा सुरक्षा प्राथमिकतामा रहेको र आपूर्तिकर्तामार्फत जोखिम घटाउने प्रयास भइरहेको बताएका छन् । तर श्रमिक अधिकारकर्मीहरूले कामदारको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय ब्रान्डले आफ्ना आपूर्तिकर्तालाई जवाफदेही बनाउनुपर्ने बताएका छन् ।
सिन्ध प्रान्तकी सरकारी प्रवक्ता सादिया जावेदले नियम कार्यान्वयनमा चुनौती रहेको स्वीकार गरिन् । तर सिद्दिकीका अनुसार कामदारका गुनासा अझै सुनिँदैनन् । “महिलाहरू धेरै रुन्छन् र गुनासो गर्छन्, तर पनि काम गर्नैपर्छ”, उनले भनिन् ।



