सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख बराबरको खसीबोका कारोबार भएको छ ।
कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसीबोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
गत वर्ष २०८२ को दसैँमा कृषिउपज बजारबाट रु २३ करोड बराबरको खसीबोका कारोबार भएको थियो । दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा हरेक वर्ष कारोबार बढ्ने गरेको व्यवस्थापक भट्टराईले बताए ।
कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिदबिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । धरान कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । विशेषगरी बिहीबार र शुक्रबार खसीबोकाको बजार लाग्ने भएकाले उल्लेख्य सङ्ख्यामा व्यापारी तथा किसान यहाँ आउने गरेका छन् ।
धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, मोरङको कानेपोखरी र बेलबारीसहित तराई क्षेत्रबाट पनि किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि यहाँ आउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए । धरानमा खरिदबिक्री हुने खसीबोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ ।
कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषिउपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा समेत योगदान पुर्याएको व्यवस्थापक भट्टराईले बताए ।



