काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणमा बलियो प्रदर्शन गर्ने लक्ष्यसहित विराटनगर किंग्सले श्रीलंकाका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युजलाई टोलीमा अनुबन्ध गरेको छ ।
बिहीबार म्याथ्युजलाई भित्र्याएको औपचारिक घोषणा गर्दै क्लबले उनको अनुभव टोलीका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेको हो । श्रीलंकाका पूर्वकप्तानसमेत रहेका ३९ वर्षीय म्याथ्युजको आगमनलाई विराटनगरले टोलीको सन्तुलन सुधार्ने रणनीतिक कदमका रूपमा लिएको छ ।
विशेषगरी दबाबपूर्ण अवस्थामा जिम्मेवारीपूर्ण ब्याटिङ गर्ने र आवश्यकताअनुसार बलिङबाट योगदान दिने उनको क्षमताले टोलीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट र विभिन्न फ्रेन्चाइज लिगमा लामो अनुभव बटुलेका म्याथ्युजको उपस्थितिले नेपाली युवा खेलाडीलाई समेत सिक्ने अवसर प्रदान गर्नेछ ।
विश्व क्रिकेटमा स्थापित खेलाडीलाई अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको विराटनगर किंग्सले उनको नेतृत्व क्षमता र खेल अनुभवले मैदानभित्र टोलीको आत्मविश्वास बढाउने विश्वास लिएको छ ।
म्याथ्युजको आगमनसँगै आगामी एनपीएलमा विराटनगर किंग्सको प्रदर्शनप्रति समर्थकको चासो थप बढ्ने अपेक्षा गरिएको छ ।



