काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ ।
महाशाखाले आज दिउँसो पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ । तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्नेछ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा समेत हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान छ । देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।



