काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि वेष्ट इण्डिजका अलराउन्डर फेबियन एलेनलाई अनुबन्ध गरेको छ । टोलीले उनलाई आज टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने प्रतिक्रिया दिए ।
“फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेषगरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,” खड्काले भने । ३१ वर्षीय एलेन बायाँहाते स्पिन बलिङ र आक्रामक ब्याटिङका लागि परिचित छन् । उनले हालसम्म वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
सुदूरपश्चिमले शनिबार वेष्ट इन्डिजकै अर्का खेलाडी शेरफन रदरफोर्डलाई पनि अनुबन्ध गरेको थियो ।




