काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् ।
धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माण स्थलको स्थलगत अवलोकन गर्दै उनले ट्रमा सेन्टर निर्माणको लागि टेन्डर प्रक्रिया पूरा भइसकेको बताएकी हुन् । उनले स्वास्थ्य मन्त्रालयबाट आवश्यक तयारी पुरा गरेर पूर्वाधार विकास मन्त्रालयमा फाइल पुगिसकेको जानकारी दिइन् ।
उनले ट्रमा सेन्टर निर्माणको शिलान्यास छिट्टै गर्ने पनि बताइन् । सडक दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई समयमै उपचार उपलब्ध गराउने तथा उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो ।
उनले भनिन्, ‘हाम्रो टेन्डर नै परिसकेको छ । स्वास्थ्य मन्त्रालयबाट साइन भएर अगाडि पूर्वाधार विकास मन्त्रालयमा गइसकेको छ । बहु वर्षीय भइसकेको छ, त्यही भएर यो कम्प्लिसनतिर जाँदैछ । एक्ज्याक्ट शिलान्यासको डेट त भन्न गाह्रो हुन्छ । तर हुन्छ, चाँडै नै हुन्छ । यहीँ बन्छ ।’
मन्त्री मेहताले आइतबार धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माण स्थलको स्थलगत अवलोकन गरेकी हुन् । ढल्केवरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलो पटक रकम विनियोजन गरेको थियो । मिथिला नगरपालिका–७ स्थित प्रस्तावित निर्माण स्थलका लागि चार बिघा जग्गा प्राप्ति समेत भइसकेको छ । यहाँका स्थानीयले लामो समयदेखि ढल्केवरमा ट्रमा सेन्टर निर्माणको काम अगाडी बढाउन माग गर्दै आएका छन् ।




