म्याग्दी । गत महिनाको बाढीपहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै स्थानमा विद्युत् आपूर्ति पूर्ववत् भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको बेनी र तातोपानी वितरण केन्द्रले बाढीपहिरोले क्षति पुगेका प्रसारण, शाखा लाइन लगायतका संरचना मर्मत गरेर विद्युत् आपूर्ति सूचारु गरेका हुन् ।
प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा शनिबार बत्ती बलेको जानकारी दिए । “धेरै ठाउँमा दुई/तीन दिनमै विद्युत् आपूर्ति गराएका थियौँ । पाउद्वार, गिवाङ, किन्दु क्षेत्रमा चाडपर्वको समय पनि नभनी कर्मचारी र मजदुरहरू दसैँको समयमा रातीसम्म परिचालन भयौँ,” उनले भने, “कतिपय ठाउँमा वैकल्पिक माध्यम र संरचनाबाट विद्युत् आपूर्ति गराएका छौँ । दोस्रो चरणमा थप मर्मत गरी विद्युत् आपूर्तिलाई नियमित र व्यवस्थित बनाउने प्रयासमा छौँ ।”
म्याग्दी वितरण केन्द्र अन्तर्गतको मिलनचोक सबस्टेसनमार्फत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारिबेनीकासहित २४ हजार ४९० ग्राहक छन् । तातोपानी वितरण केन्द्रअन्तर्गत अन्नपूर्ण गाउँपालिका–१, २, ३ र ४ नम्बर वडासहित मुस्ताङमा विद्युत् आपूर्ति हुन्छ ।
बाढी पहिरोले प्राधिकरणको ३३/११ केभीको प्रसारण, वितरण लाइनका २५० वटा पोल र त्यहाँ तानिएका तार क्षति गरेको थियो । कुल रु एक करोड ५० लाख क्षति पुगेको प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख गामीले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकाको राम्चे र हिस्तानमा पर्वतको जलजला गाउँपालिका–५ लेकफाँट तर्फबाट विद्युत् आपूर्ति गरिएको छ । यस क्षेत्रमा यसअघि महभिरतर्फबाट विद्युत् आपूर्ति हुने गरेको थियो ।
पाउद्वारमा हेलिकप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको बेनी वितरण केन्द्रका प्रमुख गामीले बताए । विद्युत् आपूर्ति हुन थालेपछि ग्रामीण क्षेत्रको जनजीवन सहज हुन थालेको छ ।




