काठमाडौँ । संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डिएनए परीक्षण कीट तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
परराष्ट्र मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री शिशिर खनालको उपस्थितमा आचार्य र नेपालले डिएनए परीक्षण कीट सरकारलाई आज हस्तान्तरण गरेका हुन् । सोही अवसरमा उत्तम नेपालले मन्त्री खनालमार्फत सरकारलाई सहयोग स्वरूप रु एक करोडको चेकसमेत हस्तान्तरण गरे ।
आचार्य र नेपालले व्यक्तिगत रूपमा उक्त सहयोग उपलब्ध गराएका हुन् । सहयोगका लागि दुवै जनाप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले प्राप्त डिएनए परीक्षण कीट र आर्थिक सहयोगले सरकारको उन्नत डिएनए परीक्षण तथा अनुसन्धानसम्बन्धी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।




