काठमाडौँ । नेपालमा भारतीय पर्यटकको आगमन बढाउने तथा भारतमा नेपाली पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले ‘नेपाल-भारत क्रस बोर्डर टुरिजम कनेक्ट’ कार्यक्रम सुरु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा भारतका विभिन्न सहरबाट २३ भन्दा बढी पर्यटन तथा ट्राभल व्यवसायी सहभागी भएका छन्।
भारतको ट्राभल ट्रेड वेलफेयर एशोसिएशनका अध्यक्ष राजेश सिन्हा र इन्डो-नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंहलगायतले कार्यक्रमको उद्घाटन गरेका हुन्। नेपाल आएका भारतीय व्यवसायीलाई रुपन्देहीको बेलहिया नाकामा विशेष कार्यक्रम आयोजना गरी स्वागत गरिएको थियो।
कार्यक्रम अन्तर्गत भारतीय पर्यटन व्यवसायीलाई नेपालका प्रमुख पर्यटकीय गन्तव्य, उपलब्ध सेवा तथा भ्रमणका सम्भावनाबारे प्रत्यक्ष जानकारी गराइनेछ। उनीहरूलाई सुनौली हुँदै लुम्बिनी क्षेत्र, रामग्राम स्तूप, अमलटारी र चितवनको सौराहालगायतका गन्तव्यमा भ्रमण गराउने कार्यक्रम तय गरिएको छ।
आयोजक गैरआवासीय नेपाली संघका प्रवक्ता सोमनाथ सापकोटाले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अन्तर्राष्ट्रिय बजारमा नेपाल असुरक्षित रहेको सन्देश फैलिएकाले त्यसलाई चिर्न कार्यक्रम आयोजना गरिएको बताए।
उनका अनुसार बाढी पहिरोबाट नेपालका केही क्षेत्रका सडक, पुल तथा पर्यटकीय मार्ग प्रभावित भए पनि समग्र मुलुक नै असुरक्षित रहेको धारणा बनेपछि विदेशी पर्यटकको आगमन प्रभावित भएको छ। केही पदयात्रा मार्गबाहेक अधिकांश पर्यटकीय गन्तव्य सञ्चालनमा रहेको भन्दै उनले नेपाल भ्रमणका लागि उपयुक्त रहेको सन्देश प्रवाह गर्न आवश्यक भएको बताए।
‘भोटेकोशीको बाढीपछि विश्वका विभिन्न देशबाट नेपालमा आउने पर्यटकहरूले आफ्नो भ्रमण कार्यक्रम रद्द गर्ने गरेका कारण पर्यटकको सङ्ख्या कम भएको छ,’ सापकोटाले भने, ‘नेपालका केही जिल्लामा मात्रै समस्या भएको हो, समग्र देश प्रभावित भएको होइन भन्ने सन्देश दिन भारतीय पर्यटन व्यवसायीलाई आमन्त्रण गरेका हौँ।’
उनले नेपालका पर्यटकीय गन्तव्यहरू सञ्चालनमा रहेको वास्तविक अवस्था अन्तर्राष्ट्रिय पर्यटन बजारसम्म पुर्याउन भारतीय व्यवसायीको प्रत्यक्ष भ्रमण प्रभावकारी हुने विश्वास व्यक्त गरे।
सापकोटाका अनुसार भारतबाट वार्षिक तीन करोडभन्दा बढी नागरिक तेस्रो मुलुक भ्रमणमा जाने गरेका छन्। तर गत वर्ष करिब तीन लाख भारतीय पर्यटकले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक रहेको उनले बताए।
भारतको ठूलो बाह्य पर्यटन बजारका तुलनामा नेपालले अपेक्षित सङ्ख्यामा भारतीय पर्यटक आकर्षित गर्न नसकेको उल्लेख गर्दै उनले यसका लागि गन्तव्यको प्रचारप्रसार र पर्यटन व्यवसायीबीच प्रत्यक्ष सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा विशेष गरी बुद्ध सर्किट, थारु संस्कृति, जंगल सफारी तथा अमलटारी क्षेत्रका पर्यटकीय गतिविधि, होटेल र अन्य सुविधाको प्रवर्द्धन गरिनेछ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटनका सम्भावनालाई भारतीय व्यवसायीसमक्ष प्रस्तुत गर्ने आयोजकको योजना छ।
त्यस्तै, भारतीय पर्यटकलाई लुम्बिनी र चितवन हुँदै पोखरा तथा काठमाडौँसम्म सहज रूपमा जोड्ने सम्भावनाबारे पनि नेपाल र भारतका पर्यटन व्यवसायीबीच छलफल गरिनेछ। यसबाट विभिन्न गन्तव्यलाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास गर्ने सम्भावनाको पहिचान हुने आयोजकको अपेक्षा छ।
कार्यक्रममार्फत लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै दुवै देशका पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार नेपाललाई सुरक्षित, सहज र पर्यटक स्वागतका लागि तयार गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्नु कार्यक्रमको प्रमुख उद्देश्य हो।
नेपाल पर्यटन बोर्ड, होटेल एसोसिएसन नेपाल ९हान० र पाटालगायतका संस्थाले कार्यक्रम सञ्चालनमा सहयोग गरेका छन्।




