काठमाडौँ । श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल खेल्ने भएका छन्।
तीस वर्षीय रत्नायके बायाँहाते ब्याटर हुन् । उनी दायाँहाते अफ स्पिन र बायाँहाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्छन् । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उनी फरक शैलीका बलरका रूपमा परिचित छन् ।
रत्नायकेले श्रीलंकाका लागि चार टी-२० अन्तरराष्ट्रिय खेल खेखेका छन् । त्यसमा उनले छ विकेट लिएका छन् भने ब्याटिङमा ७७ रन बनाएका छन् । उनको टी-२० अन्तरराष्ट्रियमा उच्च स्कोर ६५ रन हो । घरेलु तथा अन्य टी–२० प्रतियोगितामा उनले ८८ खेल खेल्दै ९८ विकेट लिएका छन् ।
यसै क्रममा उनको उत्कृष्ट बलिङ प्रदर्शन आठ रन खर्चेर चार विकेट लिनु हो । उनले टी-२० क्रिकेटमा ६३८ रनसमेत बनाएका छन् ।
प्रथम श्रेणी क्रिकेटमा ८२ खेल खेलेका रत्नायकेले ३७८ विकेट लिएका छन्, भने एक हजार ९२३ रन बनाए । त्यस्तै, लिस्ट ए क्रिकेटमा ९६ खेल खेल्दै १३३ विकेट र ९५२ रन बनाएका छन् ।




