काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका-५, फर्पिङस्थित प्रहरी चेकपोस्टबाट ३२२ ग्रामभन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार निवासी ३१ वर्षीय विवेक कुमार रहेका छन्। वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको सार्वजनिक सवारीसाधन जाँच गर्ने क्रममा उनको साथबाट लागूऔषध बरामद भएको हो।
बुधबार कात्तिक ११ गते दिउँसो १ बजेर २० मिनेटमा फर्पिङस्थित चेकपोस्टमा प्रहरीले ना १ ज २०२३ नम्बरको टाटा सुमो रोकेर चेकजाँच गरेको थियो।
सोही क्रममा सवारीसाधनमा यात्रा गरिरहेका विवेक कुमारको साथबाट लुकाइछिपाई ल्याइएको अवस्थामा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पदार्थको प्लास्टिकसहितको कुल तौल ३२२.३०० ग्राम रहेको छ। उक्त परिमाणमा प्याकिङका लागि प्रयोग गरिएको प्लास्टिकको तौलसमेत समावेश भएकाले लागूऔषधको खुद तौल भने खुलाइएको छैन।




