काठमाडौँ । झापामा भारतबाट ल्याइएको १५०.१४० ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा रहेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।
लागू औषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका-१ निवासी ३० वर्षीय सलमान मियाँ र ३६ वर्षीय नासिम अख्तर मियाँ रहेका छन्।
ब्युरोको काँकडभिट्टास्थित शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले कात्तिक ११ गते झापाको झापा गाउँपालिका-१, सालमारा क्षेत्रमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भारतबाट लागूऔषध खैरो हेरोइन ल्याई कोशी प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने गिरोहको निगरानी गर्ने क्रममा उनीहरूको पहिचान भएको थियो।
भारतको कुटुवा भिट्टाबाट मोटरसाइकलमा नेपालतर्फ आइरहेका व्यक्तिहरूलाई लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।
सोही क्रममा उनीहरू एक्कासि फेरि भारततर्फ भाग्न खोजेपछि चेतावनी स्वरूप दुई राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट १५०.१४० ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ।
त्यसैगरी, मे ७ प ३ नम्बर प्लेटको सुपर स्प्लेन्डर र बीआर३७एए५३८० भारतीय नम्बर प्लेटको होन्डा साइन मोटरसाइकलसमेत बरामद गरिएको छ। उनीहरूको साथबाट दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।
ब्युरोका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद, झापामा बुझाइएको छ।
प्रहरीले भारतबाट नेपालतर्फ लागूऔषध ल्याउने गतिविधिको निगरानीका क्रममा उक्त परिमाणको खैरो हेरोइन बरामद भएको जनाएको छ।




