काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको हो।
पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक अविजित ४० रन बनाए। उनले २५ बलको सामना गर्दै चार चौका र एक छक्का प्रहार गरे। अन्तिम ओभरमा मात्रै १५ रन जोडेका घर्तिमगरले टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याउन महत्त्वपूर्ण योगदान दिए।
त्यस्तै, महेदी हसनले ३२ रन बनाए। उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए। महेदीलाई छैटौँ ओभरको पाँचौँ बलमा अनिल खरेलले दीपेन्द्रसिंह ऐरीबाट क्याच गराउँदै आउट गरे।
पोखराले तेस्रो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमाएको थियो। ओपनर दिनेश खरेल सात बलमा चार रन बनाएर हेमन्त धामीको बलमा आउट भएका थिए।
कप्तान कुशल भुर्तेलले १७ बलमा दुई चौकासहित २१ रन बनाए। पहिलो बलमै डीआरएसमार्फत आउट हुनबाट जोगिएका उनी दसौँ ओभरको पहिलो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा क्याच आउट भए।
पोखराका लागि शाकिब अल हसनले १६ बलमा १४ रनको योगदान दिए। सदिरा समराविक्रमा आठ, धनञ्जय लक्षन ११ र किरण ठगुन्ना एक रनमा आउट भए। विपिन खत्री पाँच रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका स्पिनर अनिल खरेल प्रभावशाली देखिए। उनले तीन ओभरमा २३ रन खर्चेर तीन विकेट लिए। अनिलले पोखराका विदेशी खेलाडी महेदी हसन, शाकिब अल हसन र सदिरा समराविक्रमालाई आउट गरेका थिए।
त्यस्तै, सुदूरपश्चिमका हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए।
यसअघि टस जितेको सुदूरपश्चिमले पोखरालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम प्रतियोगितामा पहिलो जितको खोजीमा छ।
पोखरा भने तेस्रो संस्करणको आफ्नो पहिलो खेल खेलिरहेको छ। अब सुदूरपश्चिमले जितका लागि निर्धारित २० ओभरमा १४६ रन बनाउनुपर्नेछ। पोखरा उक्त लक्ष्य रक्षा गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने प्रयासमा रहनेछ।




