काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि आजदेखि कात्तिक २० गतेसम्म काठमाडौँका विभिन्न क्षेत्रमा दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत लाइनसम्बन्धी काम गर्न निर्धारित तालिकाअनुसार विद्युत् आपूर्ति बन्द गरिनेछ । सम्बन्धित क्षेत्रमा बिहान १०:३० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ ।
तालिकाअनुसार कात्तिक १३ गते बलम्बु, थानकोट र मातातीर्थ फिडरअन्तर्गत पर्ने हाई भिजन कोलोनी क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
त्यसैगरी, कात्तिक १४ गते सीतापाइला फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मको क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ । कात्तिक १५ गते कलंकी, थानकोट र रोपवे फिडरअन्तर्गत कलंकी चोकदेखि ढुंगेअड्डासम्म विद्युत् कटौती गरिनेछ ।
कात्तिक १६ गते बाफल फिडरअन्तर्गत कलंकी रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने तालिका छ ।
यसैगरी, कात्तिक १७ गते शंखमूल फिडरअन्तर्गत यूएनपार्कदेखि बिजुली बजारसम्मको क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । कात्तिक १८ गते सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
प्राधिकरणका अनुसार कात्तिक १९ गते स्युचाटार एसएस फिडरअन्तर्गत हाज्मा पुल क्षेत्रमा विद्युत् कटौती हुनेछ । कात्तिक २० गते पुनः सतुंगल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरिने छ ।
प्राधिकरणले सार्वजनिक गरेको तालिकामा प्रत्येक दिन फरक-फरक फिडर तथा क्षेत्र तोकिएकाले सबै स्थानमा लगातार आठ दिन विद्युत् कटौती हुने भने होइन । सम्बन्धित फिडर अन्तर्गतका क्षेत्रमा तोकिएको दिन र समयमा मात्रै विद्युत् आपूर्ति प्रभावित हुने जनाइएको छ ।





