काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भएका विवादबारे छलफल गर्न प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ।
समिति सचिवालयका अनुसार आगामी मंगलबार सिंहदरबारस्थित समितिको सभाकक्षमा बैठक बस्ने गरी आह्वान गरिएको हो। बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरूसँग सम्बन्धित पछिल्लो विवादका विषयमा छलफल गर्ने कार्यक्रम छ।
बिचौलियाको आरोप लागेका इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायाधीशहरूको सम्बन्ध तथा सन्देश आदानप्रदान भएको भनिएका विवरण सार्वजनिक भएपछि न्याय क्षेत्रको पारदर्शिता र जवाफदेहिताबारे प्रश्न उठेका छन्।
सापकोटाको मोबाइल फोन तथा अन्य विद्युतीय उपकरणबाट प्राप्त भएको भनिएका सामग्रीमा प्रधानन्यायाधीश, न्यायाधीशहरू र प्रहरीका उच्च अधिकारीहरूसँगको कथित संवाद तथा आर्थिक कारोबारसम्बन्धी विवरण रहेको दाबी गरिएको छ।
यद्यपि, सार्वजनिक भएका ती सामग्रीको आधिकारिकता, तिनमा उल्लेख भएका संवादको वास्तविकता तथा कथित कारोबारको प्रकृतिबारे स्वतन्त्र पुष्टि भएको छैन। आरोपसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता पनि प्रमाणित भइसकेको छैन।
यही पृष्ठभूमिमा संसदीय समितिले न्याय क्षेत्रसँग सम्बन्धित विवादलाई छलफलको विषय बनाउन लागेको हो।




