काठमाडौँ । यमनको विद्रोही हुथी समूहले सरकारी नियन्त्रणमा रहेका विभिन्न रणनीतिक क्षेत्रहरूमा सक्रिय साउदी सैन्य कमाण्ड सञ्जाललाई लक्षित गरी कडा आक्रमण गर्ने चेतावनी दिएको छ ।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जारी विज्ञप्तिमा हुथी सैन्य प्रवक्ता याह्या सारियाले यमनभित्र परिचालित साउदी सेनाको ‘सञ्चालन व्यवस्थापन तथा फिल्ड कमाण्ड’ सम्बन्धी महत्त्वपूर्ण सूचना समूहले हात पारेको दाबी गरेका छन् । हुथी सैन्य प्रवक्ता याह्या सारियाकाअनुसार विद्रोही समूहले साउदी अरबको आन्तरिक भूभागसम्म लक्षित गुणस्तरीय सैन्य कारबाहीलाई निरन्तरता दिने रणनीति बनाएको छ । उनले साउदी गठबन्धनको आक्रामकता अन्त्य नभएसम्म र यमनमाथिको नाकाबन्दी नहटेसम्म ‘नाकाबन्दीको बदला नाकाबन्दी’ र ‘तनावको बदला तनाव’ को नीति अनुरूप सैन्य अखडाहरूमा निरन्तर प्रहार गरिने स्पष्ट पारे । प्रवक्ता सारियाले कुनै स्वतन्त्र प्रमाण प्रस्तुत नगरी दक्षिणी बन्दरगाह सहर एडेन, तेल समृद्ध प्रान्तहरू शबवा, मारिब, हद्रामौत तथा पूर्वी प्रान्त अल–माहरा र सोकोत्रा द्वीप समूहमा रहेका साउदी समर्थन संरचना र सैन्य बेसहरूको पहिचान भइसकेको दाबी गरेका छन् । यद्यपि, हुथी समूहले गरेको यो दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
विद्रोही समूहले साउदी सैन्य अधिकारी, सेना तथा उनीहरूका अखडाहरूलाई निरन्तर निगरानी र निशाना बनाइराख्ने चेतावनी दिँदै ती क्षेत्रहरूबाट टाढा रहन सर्वसाधारण नागरिकलाई आग्रह गरेको छ । हुथीको यस चेतावनी र दाबीका सम्बन्धमा साउदी अरब तथा यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले तत्काल कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।
पछिल्ला दिनहरूमा साउदी नेतृत्वको गठबन्धन समर्थित सरकारी सेना र हुथी विद्रोहीबीचको भिडन्त पुनः चर्किएको छ। एकातर्फ साउदी गठबन्धनले यमनमा हवाई आक्रमण जारी राखेको छ भने अर्कातर्फ हुथी समूहले सरकारी नियन्त्रित क्षेत्र र साउदी सीमाभित्र मिसाइल तथा ड्रोन आक्रमण तीव्र बनाएको छ । सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी क्षेत्रका अधिकांश भाग कब्जा गरेपछि यमन चरम गृहयुद्धमा फसेको हो ।
त्यसपछि सन् २०१५ मा यमनी सरकारको समर्थनमा साउदी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनले हस्तक्षेप गरेयता यस क्षेत्रमा मानवीय र सुरक्षा संकट गहिरिँदै गएको छ ।




