काठमाडौँ। ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।
जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको साझेदारी गरे । मोइन १६ बलमा २१ रन बनाएर आउट भए ।
अभिषेक तिवारीले आक्रामक ब्याटिङ गरे । उनी १० बलमा २४ रनमा अविजित रहे । सैफ हस एक, कप्तान हर्मीत सिंह ९, जिम्मी निशम ११, अमरसिंह रौटेला र अनिलकुमार शाह ९ रनमा आउट भए ।
पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिएका हुन् । चमिका करुणारत्ने २, महेदी हसन, र मोहम्मद सैफुद्दिनले एक-एक विकेट लिए ।
पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर दोस्रो जित निकाल्ने योजनामा छ ।




