काठमाडौँ । जिल्ला प्रहरी परिसर भक्तपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। मध्यपुर थिमि नगरपालिका-२, दिव्यश्वरी प्लानिङ क्षेत्रमा गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार कात्तिक १४ गते गरिएको जाँचका क्रममा पक्राउ परेका व्यक्तिहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको थियो। पक्राउ परेकाहरूलाई कात्तिक १५ गते लागूऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत भक्तपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कपिलवस्तुको बाणगङ्गा नगरपालिका-९ घर भई हाल काठमाडौँको काँग्रेसरी मनहरा क्षेत्रमा बस्दै आएका २८ वर्षीय वसन्तबहादुर खत्री रहेका छन्। उनको साथबाट ४२.८४ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ र डिजिटल तराजु बरामद भएको प्रहरीको भनाइ छ।
त्यस्तै, दोलखाको मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौँको काँग्रेसरी मनहरा क्षेत्रमा बस्दै आएका २८ वर्षीय प्रदीप केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट १.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको जनाइएको छ।




