काठमाडौँ । उच्च अदालत पाटनले तिहार बिदाको अवधिमा पनि वाणिज्य इजलासबाट अत्यावश्यक न्यायिक सेवा सञ्चालन गर्ने भएको छ। अदालतले सूचना जारी गर्दै सार्वजनिक बिदाका दिनमा समेत पक्राउ पुर्जी जारी गर्ने अनुमति तथा जरुरी पक्राउ पुर्जीको स्वीकृतिसम्बन्धी काम निरन्तर रहने जनाएको हो।
अदालतको प्रशासन शाखाबाट जारी सूचनाअनुसार शुभ दीपावलीका अवसरमा कात्तिक २२ देखि २६ गतेसम्म अदालतका नियमित कामकारबाही बन्द रहनेछन्। तर उक्त अवधिमा वाणिज्य इजलासबाट तोकिएका अत्यावश्यक काम भने सञ्चालन गरिनेछन्।
अदालत व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७५ तथा सर्वोच्च अदालतका सम्बन्धित परिपत्रका आधारमा बिदाको समयमा पनि निश्चित न्यायिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।
सूचनाअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ९ को उपदफा (२) बमोजिम पक्राउ पुर्जी जारी गर्न अनुमति दिने र सोही दफाको उपदफा (६) बमोजिम जरुरी पक्राउ पुर्जीको स्वीकृति प्रदान गर्ने काम वाणिज्य इजलासबाट हुनेछ।
त्यसका लागि बिदाको अवधिभर भाइटीका र शनिबारबाहेकका दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत खुला रहनेछ। तोकिएका सेवाबाहेक नियमित मुद्दाको सुनुवाइ तथा अन्य न्यायिक कामकारबाही भने सञ्चालन हुने छैनन्।
यसैबीच, उच्च अदालत पाटनले शुभ दीपावली (तिहार) २०८३ को अवसरमा शुभकामना सन्देशसमेत जारी गरेको छ। अदालतले न्यायाधीश, कर्मचारी, सेवाग्राही तथा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेको हो।
शुभकामना सन्देशमा तिहारलाई नेपालीहरूको मौलिक संस्कृति, परम्परा र आपसी सद्भावको प्रतीकका रूपमा उल्लेख गर्दै पर्वले सामाजिक एकता, भाइचारा र पारस्परिक सम्बन्ध सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।





