काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा पुल निर्माण गरिएको छ । रु. एक करोड ७९ लाखको लागतमा सो पुल निर्माण गरिएको हो ।
पूर्वाधार विकास कार्यालय, धुलिखेल र रोशी गाउँपालिका-२ स्थित एम/एस लामा प्रगति निर्माण सेवाबीच पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
धुलिखेल नगरपालिका-१० का वडाध्यक्ष गोविन्दप्रसाद भण्डारीले उक्त क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएकाले पुल निर्माण गरिएको बताए । पुल सञ्चालनमा आएपछि सवारी आवागमन सहज र सुरक्षित हुनुका साथै स्थानीय कृषि उपज बजारसम्म पुर्याउन तथा आर्थिक गतिविधि बढेको उनले बताए ।
सत्र महिनाको अवधिमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख केशव पोखरेलले जानकारी दिए । पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दाका साथै उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रुलाई सहज हुने तथा एम्बुलेन्सलगायतका आपत्कालीन सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





