इजिप्ट । इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा अन्य ११२ जना घाइते भएका छन् ।
इजिप्टको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार घाइतेमध्ये ४५ जनाको स्वास्थ्य अवस्थामा सुधार आएपछि उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिएको छ । अन्य सात जनालाई पनि चाँडै डिस्चार्ज गर्ने तयारी गरिएको छ । बाँकी घाइतेको अस्पतालमा चिकित्सकीय निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । दुर्घटनापछि उद्धार तथा राहत कार्यमा ७२ वटा एम्बुलेन्स परिचालन गरिएको थियो ।
घाइतेहरूलाई गिजा तथा नजिकैको बेनी सुएफ प्रान्तका विभिन्न अस्पतालमा पुर्याइएको थियो । स्वास्थ्य मन्त्री खालेद अब्देल गफ्फारले दुवै प्रान्तका स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन र घाइतेलाई आवश्यक उपचार तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनाबारे आफूले नजिकबाट जानकारी लिइरहेको बताएका छन् । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
राष्ट्रपति सिसीले सम्बन्धित सरकारी निकायलाई घाइतेको उपचारमा कुनै कमी हुन नदिन, दुर्घटनाको शीघ्र अनुसन्धान गर्न र लापरबाही गरेको पाइएमा दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । इजिप्टको राष्ट्रिय रेल प्राधिकरणकाअनुसार कफ्र अम्मार र अल–रक्का स्टेसनबीच दुर्घटना भएको हो ।
गिजा–फयुम रुटमा चलिरहेको रेलले कायरो–अस्वान रुटको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो । स्थानीय प्रत्यक्षदर्शी अहमद असादका अनुसार दुर्घटनास्थल नजिकै रहेका बेला दुई रेल ठोक्किएको ठूलो आवाज सुनिएको थियो । उनका अनुसार एउटा चलिरहेको रेलले रोकिराखेको रेललाई ठक्कर दिएको थियो । घटनालगत्तै एम्बुलेन्स, दमकल र प्रहरी घटनास्थल पुगेका थिए । रेल प्राधिकरणले दुर्घटनास्थलमा उद्धार टोली र क्रेन परिचालन गरी क्षतिग्रस्त रेलका डिब्बा हटाउने काम भइरहेको जनाएको छ । दुवैतर्फको रेल सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । इजिप्टको रेल सञ्जाल लामो समयदेखि पुराना उपकरण र कमजोर व्यवस्थापनका कारण समस्याग्रस्त रहँदै आएको छ ।
त्यहाँ रेल दुर्घटनाका घटना पटकपटक हुने गरेका छन् । सन् २००२ मा कायरोबाट लक्सर जाँदै गरेको रेलमा आगलागी हुँदा गिजाको अय्यात क्षेत्रमा ३८० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।





