काठमाडौँ । दीपावली तथा तिहार पर्व सकिएसँगै मिथिलाञ्चलसहित देशभर छठ पर्वको तयारी तीव्र पारिएको छ । छठ पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाएको छ ।
बिहीबार जनकपुरधाममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले छठ पर्वका अवसरमा नदी, पोखरी तथा घाटहरूमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको जानकारी दिए । उनका अनुसार जनकपुरधामका विभिन्न पोखरी, नदी किनार तथा छठ घाटमा सरसफाइ र व्यवस्थापनका काम भइरहेका छन् ।
सुरक्षा समितिले एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत सुरक्षा व्यवस्था मिलाएको छ । छठ पूजा समितिहरूसँग पनि निरन्तर समन्वय र छलफल भइरहेको उनले बताए । प्रमुख जिल्ला अधिकारी लुइँटेलले धार्मिक सहिष्णुता, सद्भाव, सामाजिक एकता र भाइचारालाई कायम राख्दै छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन सबै धर्मावलम्बी तथा श्रद्धालु भक्तजनलाई आग्रह गरे ।
यसैबीच, जनकपुरधाममा छठ पूजामा विशिष्ट तथा अति विशिष्ट व्यक्तित्वहरूको सहभागिता हुनसक्ने सूचनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले छुट्टै सुरक्षा व्यवस्थापनको तयारी गरेको छ ।
उनका अनुसार विभिन्न राजनीतिक दल तथा सञ्चारमाध्यमबाट विशिष्ट व्यक्तित्वहरूको आगमनबारे जानकारी प्राप्त भएको छ । उनीहरूको आगमनको मिति र सहभागी हुने व्यक्तिहरू निश्चित भएपछि थप सुरक्षा तथा व्यवस्थापकीय प्रबन्ध मिलाइनेछ ।
उनले भने, ‘दीपावली तथा तिहारलगत्तै मनाइने मिथिलाञ्चलसहित नेपालकै महत्वपूर्ण पर्व छठको तयारी जनकपुरधाममा तीव्र रूपमा भइरहेको छ । विभिन्न पोखरी, नदी किनार तथा छठ घाटहरूको सरसफाइ र व्यवस्थापन कार्य जारी छ । जिल्ला सुरक्षा समितिले एकीकृत जिल्ला सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरी जिल्लाभर शान्ति सुरक्षाको व्यवस्था मिलाएको छ । साथै, छठ पूजा समितिहरूसँग निरन्तर समन्वय र छलफल भइरहेको छ । सम्पूर्ण श्रद्धालु भक्तजनलाई धार्मिक सहिष्णुता, सद्भाव, सामाजिक एकता र भाइचाराका साथ छठ पर्व शान्तिपूर्ण रूपमा मनाउन आग्रह गर्दछु । जनकपुरधाममा विशिष्ट तथा अति विशिष्ट व्यक्तित्वहरूको सम्भावित आगमनलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार गरिएको छ । उहाँहरूको आगमन र सहभागिता निश्चित भएपछि थप व्यवस्थापन गरिनेछ। विशिष्ट व्यक्तिहरूको आगमनले सर्वसाधारण श्रद्धालु भक्तजनको पूजाआजा र दर्शनमा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।’
प्रमुख जिल्ला अधिकारी लुइँटेलले विशिष्ट व्यक्तित्वहरूको आगमनका कारण सर्वसाधारण श्रद्धालुको नियमित पूजाआजामा कुनै असर नपर्ने स्पष्ट पारे । आम नागरिकले विगतदेखि मनाउँदै आएको आस्था र परम्पराअनुसार छठ पूजा गर्न पाउने गरी व्यवस्थापन गरिने उनको भनाइ छ ।





