काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले अन्य राजनीतिक दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेर पुरानै शैलीको राजनीतिक सिन्डिकेट बनाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले काँग्रेसभित्रै नेतृत्व चयन र गुटगत राजनीतिमा हस्तक्षेप गर्न खोजेको बताएका हुन् । उनले सरकारले लोकतान्त्रिक शासनका सामान्य मर्यादा र विधिको शासनसमेत पालना नगरेको आरोप लगाए । निर्वाचनपछि बलियो जनमतसहित बनेको सरकारले नागरिकको विश्वासको सम्मान गर्नुको सट्टा लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार गर्न खोजेको उनको भनाइ छ । पौडेलले कुनैपनि व्यक्ति वा सरकार कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै विधि, कानून र नियमको शासन स्थापित गर्नकै लागि गणतन्त्र ल्याइएको बताए।
सरकार आफूलाई कानूनभन्दा माथि ठान्ने प्रवृत्तिमा देखिनु स्वीकार्य नहुने उनले स्पष्ट पारे । उनले दुई तिहाइ समर्थन प्राप्त सरकारले पनि पुराना राजनीतिक दलका नेताहरूले जस्तै व्यवहार देखाएको टिप्पणी गरे । आफ्नै पार्टी सञ्चालनमा केन्द्रित हुनुपर्ने नेतृत्व अन्य दलको सभापति कसलाई बनाउने, कसलाई बलियो बनाउने र कसको पार्टी कमजोर बनाउने भन्ने खेलमा लागेको उनको आरोप छ । महामन्त्री पौडेलले विगतमा केही राजनीतिक दलका नेताहरू मिलेर गठबन्धनको सिन्डिकेटमार्फत शासन सञ्चालन गर्न खोजेको र त्यसलाई नेपाली काँग्रेसले तोडेको दाबी गरे । तर अहिले फेरि त्यस्तै राजनीतिक अभ्यास दोहोर्याउन खोजिएको उनको भनाइ छ । उनले रास्वपा नेतृत्वको सरकारलाई आफ्नै जनमतअनुसार जनताको पक्षमा काम गर्न आग्रह गर्दै अन्य दलको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्नुको औचित्य नरहेको बताए।
महामन्त्री पौडेलले भने, ‘सरकारले आफ्नो कार्यशैलीमा परिपक्वता देखाउन सकेन । बलियो जनमत र दुई तिहाइको समर्थन हुँदाहुँदै पनि सरकार लोकतान्त्रिक मूल्य, विधि र कानूनी शासनभन्दा माथि रहेर सञ्चालन हुन खोज्यो । नागरिकको आवाजलाई बेवास्ता गर्ने, राज्य प्रणाली नियन्त्रणमा लिने र फरक मत राख्नेहरूलाई कमजोर बनाउने प्रवृत्ति देखियो । सरकार पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीभन्दा फरक हुन सकेन । अन्य दलको नेतृत्व, आन्तरिक राजनीति र पार्टी विभाजनसम्म प्रभाव पार्न खोज्नु लोकतान्त्रिक अभ्यासविपरीत हो। विगतमा गठबन्धनको सिन्डिकेट तोडेको नेपाली काँग्रेसभित्रै फेरि हस्तक्षेप गर्न खोज्नुले त्यस्तै राजनीतिक प्रवृत्ति दोहोरिन लागेको देखिन्छ । लोकतन्त्र भनेको विधिको शासन, जवाफदेहिता र फरक मतको सम्मान हो। जनताको विश्वास प्राप्त सरकारले अन्य दलमा गुटबन्दी र नियन्त्रणको राजनीति गर्नुभन्दा जनताको पक्षमा काम गर्नुपर्छ । आफूविरुद्ध उठेका प्रश्नको सामना गर्ने र गल्ती भए सच्याउने क्षमता नै लोकतान्त्रिक नेतृत्वको वास्तविक पहिचान हो ।’
लोकतन्त्र भनेको विधिको शासन र फरक मतलाई स्वीकार गर्ने प्रणाली भएको उल्लेख गर्दै पौडेलले सरकारमाथि उठेका प्रश्नको सामना गर्नुपर्ने बताए। गल्ती भए स्वीकार गरेर सच्याउने लोकतान्त्रिक संस्कार सरकारमा हुनुपर्ने उनको भनाइ छ ।





