काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहायक निर्देशक र सहायक तहका ६१ रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न आवेदन माग गरेको छ ।
बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार योग्य नेपाली नागरिकले २०८३ कात्तिक २७ देखि मंसिर १७ गतेसम्म नियमित दस्तुरमा अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकतर्फ ३५ र सहायक द्वितीय श्रेणीको सहायक पदमा २६ जना माग गरेको छ । सहायक निर्देशकतर्फ प्रशासन सेवामा २६, लेखा तथा लेखापरीक्षणमा तीन, वाणिज्य कानुनमा दुई र प्राविधिक सेवाको सूचना प्रविधिमा चार पद छन् । वाणिज्य कानुनतर्फको विज्ञापन पुनः प्रकाशित गरिएको हो ।
कुल ६१ पदमध्ये खुलातर्फ ३२, महिलातर्फ १०, आदिवासी जनजाति र मधेसीतर्फ सात–सात, दलिततर्फ तीन तथा अपाङ्गता भएका उम्मेदवारका लागि दुई पद छुट्याइएको छ ।
सहायक द्वितीय पदका उम्मेदवारले लोक सेवा आयोगको एकीकृत परीक्षा प्रणालीअन्तर्गत सञ्चालित पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पनि पेस गर्नुपर्नेछ ।
आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ । विदेशबाट शैक्षिक योग्यता हासिल गरेकाले सम्बन्धित निकायबाट जारी समकक्षता प्रमाणपत्रसमेत पेस गर्नुपर्नेछ ।
समावेशी समूहको पदपूर्तिबारे सर्वोच्च अदालतको परमादेशअनुसार आवश्यक कानुनी व्यवस्था भएपछि सोहीबमोजिम पदपूर्ति गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।








