काठमाडौँ । कतारको दोहामा हुने राइजिङ स्टार्स एसिया कप क्रिकेटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ। नेपालले नोभेम्बर २० मा भारत ‘ए’सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
टोलीमा कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, बसिर अहमद, सन्दीप जोरा, देव खनाल र अर्जुन कुमाल छन्। पवन सर्राफ, ईशान पाण्डे, दीपक डुम्रे, अभिशेष गौतम, रासिद खान, लोकेश बम र नन्दन यादवले पनि टोलीमा स्थान पाएका छन्।
समूह ‘बी’ मा रहेको नेपालले नोभेम्बर २२ मा संयुक्त अरब इमिरेट्स (युएई) र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्।
नोभेम्बर १९ देखि २९ सम्म चल्ने ५० ओभरको प्रतियोगितामा आठ टोली सहभागी छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल नोभेम्बर २६ र २७ मा तथा फाइनल नोभेम्बर २९ मा हुनेछ।
नेपालले मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ४४ रनले हराउँदै उपाधि जितेको थियो। त्यससँगै नेपाल राइजिङ स्टार्स एसिया कप र सन् २०२७ को एसिया कपका लागि छनोट भएको हो। प्रिमियर कपको उपविजेता युएई र तेस्रो भएको हङकङले पनि राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएका थिए।





