मुगु । काठमाडौँबाट रारा तालतर्फ आइरहेको बागमती बा १७ च १८६४ नम्बरको आइतबार भएको जिप दुर्घटनाका दुई जना घाइतेलाई थप उपचारका लागि आज सुर्खेत पठाइएको छ ।
उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए।
उक्त जिप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो । दुर्घटनामा परी जिपमा सवार पाँच जनामध्ये काठमाडौँ कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो ।
मृतक तिनै जनाको शव जिल्ला अस्पतालमा शव परीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने नायब उपरीक्षक थपलियाले जानकारी दिए ।






