काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आन्दोलनबाट सरकार ढाल्ने वा सरकारमा जाने योजना पार्टीको नरहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्ट बहुमत रहेकाले संसदीय प्रक्रियाबाट तत्काल सरकार फेरिने सम्भावना नदेखेको बताए ।
रास्वपाभित्रै मतभेद उत्पन्न भएर उसैले सरकारको विकल्प खोजे त्यो सोही दलको विषय हुने भट्टराईको भनाइ थियो ।
उनले सरकारका कामकारबाहीप्रति जनआक्रोश बढ्दै गएको दाबी गरे । जनस्तरको विरोधबाट विगतमा सरकार फेरिएका उदाहरण भए पनि एमालेले त्यो बाटो नलिने उनले बताए ।
‘सरकारतिर हाम्रो आँखा नै छैन, सरकार बदल्ने हाम्रो एजेन्डै होइन,’ भट्टराईले भने ।
उनका अनुसार एमालेको राष्ट्रिय भेला आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारीमा केन्द्रित हुनेछ ।
भेलाले पछिल्ला सात-आठ महिनाका सरकारी कामकारबाहीबारे पार्टीको धारणा तय गर्ने र जनहित विपरीत ठानेका काम सच्याउन सरकारलाई दबाब दिने उनले बताए ।






