काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक ओम प्रकाश गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति पाउन अर्कै व्यक्तिको शैक्षिक लब्धाङ्कपत्र पेस गरेको आरोपमा आयोगले गिरीविरुद्ध मुद्दा दायर गरेको हो ।
गिरीको शैक्षिक योग्यताका प्रमाणपत्रबारे परेको उजुरीमाथि अनुसन्धान गर्दा उनले पेस गरेको तीनवर्षे बीएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण गराइएको आयोगले जनाएको छ । प्रमाणीकरणबाट उक्त लब्धाङ्कपत्र अर्कै व्यक्तिको भएको खुलेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले गिरीले शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवकको पद प्राप्त गरेको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना माग गरेको छ ।





