काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीले वडा केन्द्रित, जरा केन्द्रित र ग्रासरुट अभियान चलाए पनि जनतासँग पर्याप्त संवाद गर्न नसकेको बताएका छन् ।
पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै उनले जनतासँगको सम्पर्क कमजोर हुँदा मतदाताको बदलिँदो सोच बुझ्न नसकेको र निर्वाचनमा अपेक्षित परिणाम नआएको बताए ।
पोखरेलले पार्टीका अभियान औपचारिकता र देखावटी गतिविधिमा सीमित हुन थालेको भन्दै कार्यशैली सुधार्नुपर्नेमा जोड दिए । हाल सञ्चालित पार्टी जागरण अभियानमा पनि निर्देशिकाअनुसार काम भए/नभएको समीक्षा गर्नुपर्ने उनको भनाइ थियो । जनताका समस्या पहिचान गरेर तिनको समाधानमा नेतृत्व लिन सके मात्रै पार्टीले जनाधार फर्काउन सक्ने उनले बताए ।
विगतको निर्वाचनअघि पार्टीका नेताहरूले गरेको आकलन र वास्तविक नतिजाबीच ठूलो अन्तर देखिएको उल्लेख गर्दै पोखरेलले आगामी निर्वाचनको तयारी स्थानीय राजनीतिक शक्ति सन्तुलनको विश्लेषणबाट सुरु गर्नुपर्ने बताए । उनले स्थानीय, प्रदेश र संघीय निर्वाचनका नतिजाका आधारमा पार्टीका बलिया, मध्यम र कमजोर क्षेत्र पहिचान गर्न तथा प्रतिस्पर्धी दलको संगठन, जनप्रभाव, स्थानीय मुद्दा र मतदाताको सन्तुष्टि मूल्यांकन गर्न प्रस्ताव गरे ।
उम्मेदवार छान्ने र जिताउने जिम्मेवारी लिन आग्रह
पोखरेलले टिकट वितरणपछि असन्तुष्टि जनाउँदै नेतृत्वलाई दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । उनले कार्यकर्तालाई उम्मेदवार छनोट र निर्वाचन दुवैको जिम्मेवारी लिन आग्रह गर्दै भने, ‘उम्मेदवारहरू पनि तपाईँहरू आफैँ छान्नुस्, जिताएर देखाउनुस् ।’ उम्मेदवार छनोटका लागि सम्बन्धित तहबाटै जनमत सर्वेक्षण र व्यापक सुझाव सङ्कलनमा आधारित विधि विकास गर्नुपर्ने उनको प्रस्ताव थियो ।
निर्वाचनमा कार्यकर्ता परिचालन गर्न केन्द्रदेखि पालिकासम्मका कमिटी सक्रिय बनाउनुपर्ने पोखरेलले बताए । उनले पालिकामा संगठन र सदस्य परिचालनका लागि छुट्टै उपसमिति बनाउन तथा कमिटी र सदस्य परिचालित भए–नभएको हेर्न अनुगमन संयन्त्र गठन गर्न प्रस्ताव गरे । चुनावी प्रचारलाई परम्परागत र डिजिटल माध्यमबाट सञ्चालन गर्दै डिजिटल प्रचारलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए ।





