काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा लामो समयदेखि अल्झिएका राष्ट्रिय हितका विषय टुंग्याउन सरकारलाई सुझाव दिएका छन् ।
शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रथम स्थापना दिवस कार्यक्रममा बोल्दै उनले पञ्चेश्वर आयोजना कार्यान्वयन, टनकपुर ब्यारेजबाट सिँचाइका लागि पानी छाड्ने, विद्युत व्यापारको बजार पहुँच विस्तार गर्ने र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटको स्वीकृति प्राप्त गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । घिसिङले महाकाली सन्धि भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर आयोजना कार्यान्वयनमा आउन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक विषय टुंग्याउन प्रधानमन्त्रीलाई सुझाव दिए ।
पञ्चेश्वर आयोजना कार्यान्वयनले नेपाललाई दीर्घकालीन लाभ पुग्ने उनको भनाइ छ । त्यस्तै, पञ्चेश्वर सन्धिअन्तर्गत टनकपुरबाट पश्चिम नेपालका विभिन्न क्षेत्रमा सिँचाइका लागि पानी उपलब्ध गराउने विषय पनि टुंग्याउनुपर्ने उनले बताए । उनकाअनुसार करिव २८ किलोमिटर सिँचाइ नहर निर्माण भइसके पनि टनकपुर ब्यारेजबाट पानी छाडिएको छैन । आफू मन्त्री हुँदा पनि पटक–पटक यस विषयमा पहल गरेको स्मरण गर्दै घिसिङले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा टनकपुरबाट पानी छाड्ने कामको उद्घाटन हुनसके सुदूरपश्चिमको कृषि तथा सिँचाइ क्षेत्रमा योगदान पुग्ने बताए ।
घिसिङले विद्युत व्यापारलाई पनि भारत भ्रमणको महत्त्वपूर्ण एजेण्डा बनाउनुपर्नेमा जोड दिए । नेपालको विद्युत कहिले बढी भएर खेर जाने र कहिले अपुग हुने अवस्था रहेको उल्लेख गर्दै उनले भारत र बंगलादेशको बजारमा विद्युत्को पहुँच थप सहज बनाउन आवश्यक रहेको बताए । भारत, बंगलादेश र भुटानलगायत क्षेत्रीय बजारमा विद्युत व्यापारका लागि विगतमा भएका प्रयासलाई थप सुदृढ बनाउनुपर्ने उनको भनाइ छ । नेपालको विद्युत व्यापार विस्तारका लागि बजार पहुँच र त्यससम्बन्धी सहमति टुंग्याउनुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि उपयोग गर्न आवश्यक हवाई रुटसम्बन्धी सहमति भारतबाट प्राप्त गर्नुपर्ने घिसिङले बताए । प्रधानमन्त्रीको भ्रमणका क्रममा उक्त सहमति प्राप्त हुन सके नेपालको हवाई क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हुने उनको भनाइ छ ।





