काठमाडौँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवर्द्धन गर्न किसानलाई मल खरिदमा ७५ प्रतिशत अनुदान दिने भएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअन्तर्गत रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक तथा जैविक खेती विस्तार गर्न अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार कार्यक्रमले प्राङ्गारिक खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्नुका साथै नयाँ किसानलाई समेत आकर्षित गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रममा व्यावसायिक खेती गर्ने किसान, कृषि फार्म, समूह तथा सहकारी सहभागी हुन सक्नेछन् । अनुदान प्राप्त गर्न किसानले गाउँपालिकामा सूचीकृत उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्नेछ ।
प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार किसानले अनुदानमा मल खरिद गर्दा प्रतिकेजी १० रुपैयाँ ५० पैसा जम्मा गर्नुपर्नेछ । इच्छुक किसानले मलको प्रकार र आवश्यक परिमाण खुलाएर निवेदन दिनुपर्नेछ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले माटोको उर्वराशक्ति संरक्षण, वातावरणमैत्री खेती प्रणालीको विकास र कृषि उत्पादनको गुणस्तर सुधार कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन् ।





