काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले उद्योगीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उद्योग दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट, प्रक्रियागत जटिलता र नीतिगत अस्पष्टता कम गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
मन्त्री साहले उद्योगी तथा व्यवसायीका समस्या पहिचान, समाधान र लगानी प्रवर्द्धनमा सहजीकरण गर्ने उद्देश्यले उद्योग मन्त्रालयमा स्वदेशी लगानीकर्ता सहजीकरण कक्षको समेत शुभारम्भ गरे ।
त्यसअवसरमा मन्त्री साहले उद्योगीका समस्या सुन्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र समाधानका लागि व्यावहारिक पहल गर्ने माध्यमका रूपमा सहजीकरण विकास गरिने प्रतिबद्धता जनाए ।
उनले उद्योग क्षेत्रको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने अभियानमा सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।
राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लले आर्थिक वृद्धिलाई उत्पादनशील, समावेशी र उत्थानशील बनाइने बताए । उनले उद्योग क्षेत्रको योगदान बढाउन प्रतिस्पर्धात्मक क्षमता भएका क्षेत्र पहिचान, नीतिगत सुधार, लगानी विस्तार र उद्यमशीलता प्रवर्द्धन आवश्यक रहेको बताए ।
मन्त्रालयका सचिव रुद्रसिंह तामाङले उद्योग क्षेत्रका समस्या समाधानका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय तथा संवाद आवश्यक रहेको बताए ।
उनले उद्योगीका सुझाव र व्यावहारिक अनुभवलाई नीतिगत सुधारसँग जोड्दै औद्योगिक तथा लगानीसम्बन्धी अवरोध हटाउन सरकारी संयन्त्रलाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले उद्योग स्थापना तथा सञ्चालन प्रक्रियालाई सरल, डिजिटल र स्वचालित बनाउनुपर्ने बताए ।
उनले उत्पादन तथा निर्यात क्षमता वृद्धि, गुणस्तर परीक्षण र प्रमाणीकरण प्रणाली सुदृढीकरण तथा व्यापार र पारवहन पूर्वाधार विस्तारले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन सक्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उत्पादन, लगानी र उद्यमशीलता आर्थिक समृद्धिको आधारका रूपमा रहेकाले यसको विकास र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष अग्रवालले उद्योगीले भोगिरहेका प्रशासनिक जटिलता, उच्च उत्पादन लागत, औद्योगिक जग्गा तथा पूर्वाधारसम्बन्धी समस्या समाधान गर्न सरकार सहजीकरणकर्ता र प्रोत्साहकका रूपमा अघि बढ्नुपर्ने बताए।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक वातावरण सुधार, नीतिगत स्थायित्व, कानुनी स्पष्टता र लगानी सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए।
घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङले घरेलु, साना तथा मझौला उद्यमको वास्तविक तथ्यांक संकलन, वित्तीय पहुँच विस्तार र स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड दिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि स्पष्ट नीतिगत, कानुनी र संस्थागत व्यवस्था आवश्यक रहेको बताए ।
कार्यक्रममा आर्थिक वर्ष २०८२-८३ मा उल्लेखनीय निर्यात गर्ने स्वदेशी कम्पनीतर्फ आरएमसी फुड्स प्रालि र बहुराष्ट्रिय कम्पनीतर्फ डाबर नेपाल प्रालिलाई सम्मानित गरिएको थियो ।
यस्तै, सबैभन्दा बढी विदेशी लगानी प्राप्त गर्ने कम्पनीका रूपमा एसजेभीएन अरुण-३ पावर डेभलपमेन्ट कम्पनी प्रालि, सबैभन्दा बढी स्वदेशी लगानी गर्ने कम्पनीका रूपमा मुक्तिनाथ दर्शन लिमिटेड तथा सफल स्टार्टअप उद्यमीका रूपमा सुष्मा शर्मालाई सम्मान गरिएको छ ।






